Breaking News

सरकारविरुद्ध आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था छैन: दीनानाथ शर्मा

काठमाण्डौ, २ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्माले वर्तमान सरकारविरुद्ध कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेकोले अहिले नै सरकारका विरुद्ध कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको जिकिर गरे । उनले वर्तमान सरकार विनम्र रहेको जिकिर गरे । सरकारमाथि निगरानी बढाउनु, खबरदारी गर्नु र सचेत गर्नु प्रमुख प्रतिपक्षी दलको धर्म नै भएको उनको भनाइ छ ।

वर्तमान सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कांग्रेसले अहिले सरकारको राजिनामा नमागेको पनि जिकिर गरे । वर्तमान राजनीतिक दलहरूको लागि संविधानभन्दा अर्को दस्तावेज नभएको बताउँदै उनले आवश्यक परे संविधानलाई सुधार गर्न आफूहरू प्रतिबद्ध रहेको पनि धारणा राखे ।

साक्षात्कारमा कांग्रेसका युवा नेता प्रदिप पौडेलले वर्तमान सरकारले आफ्नो कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजिनामा माग्न आफूहरू बाध्य हुने चेतावनी दिए । दुई तिहाईको दम्भमा जनतालाई तर्साउने र धम्काउने, लोकतान्त्रिक व्यवस्थालाई कमजोर तुल्याउने कुरा आफूहरूलाई कुनै हालतमा पनि स्वीकार्य नरहेको उनको भनाइ छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन जारी राख्ने वा फिर्ता लिने भन्नेबारे आफूहरूले पुनर्विचार गर्ने स्पष्ट पारे । सरकारका पछिल्ला कदमहरुले सरकारविरुद्ध नै जनमत बढिरहेको बताउँदै उनले यो जनमतलाई कांग्रेसले प्रयोग गर्न चाहेको आरोप लगाए ।

उनले राज्यले डाक्टर गोविन्द केसीसँग धेरैपटक सम्झौता गरेको तर अहिलेसम्म कार्यान्वयन नगरेकोमा गुनासो पोखे । चिकित्सा शिक्षा अध्यादेश हेरफेर गर्दा सरकारको विश्वसनियता समाप्त हुने बताउँदै उनले सरकारले सदनमा दम्भको कुरा गर्न नहुने जिकिर गरे ।

shares