Breaking News

अमेरिका जान हिंडेका दुई नेपालीको नाइजेरियाबाट उद्धार

लेगोस, १ साउन । नेपाली दलालले अमेरिका लैजान्छु भनी विगत २२ महिनादेखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा आज नेपाल फिर्ता भएका छन् ।

उनीहरूसँग नेपाली दलाल जेशन श्रीस (बाग्लुङ्ग र पोखरा) लगायतले जनही ३५ लाख रुपैयाँ नेपालमै लिएको र पछि बीच बीचमा खान र अरु खर्च गरी ५० लाख खर्च भएकोे बताएका छन् । गैर आवासीय नेपाली संघ नाइजेरियाको प्रयास र सहयोगमा उनिहरू आज काठमाडौं फर्केका हुन् ।

उनीहरूको पासपोर्टसमेत दलालले उनीहरूलाई दिएको थिएन । इजिप्टस्थित नेपाली दुतावासले उनीहरूको लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार बैंकक हुँदै दलालमार्फत ३६ नेपाली नाइजेरिया पुगेको र त्यसमध्ये १२ जनालाई अमेरिका लान ब्राजिल उडाएको, १२ जना नेपाल फिर्ता भएको र १३ जना नाइजेरियामा अझै रहेको तर उनीहरू सम्पर्कमा आउन नचाहेका वा दलालले आउन दिएको छैन ।

गत महिना समेत थापाको संयोजनमा टोगोबाट यही समूहका ५ जनालाई उद्दार गरी नेपाल फर्काइएको थियो । थापाले उनीहरूको फिर्ताका लागि पहल गर्ने इजिप्टस्थित नेपाल दुतावास, एनआरएनए नाइजेरिया परिवार, आइसीसी सदस्य चिरञ्जीवी रोका, एनसीसी नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, सदस्य रुद्र दर्लामी मगरलाई विशेष धन्यबाद ब्यक्त गरेका छन् । बिबिन्द्र र जगनसमेत गत मे महिनामा मात्र एनआरएनएको सम्पर्कमा आई घर फर्केका हुन् ।

shares