Breaking News

‘धर्मराज–साबित्री थापा लोक साहित्य–संस्कृति पुरस्कार’ सत्यमोहन जोशीलाई

काठमाण्डौ, १ साउन । यस वर्षको ‘धर्मराज–साबित्री थापा लोक साहित्य–संस्कृति पुरस्कार’ शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको छ ।

जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रमका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले जोशीलार्इ ताम्रपत्रसहित उक्त पुरस्कार प्रदान गरेका हुन् ।

जनकविकेशरी धर्मराज थापा र उहाकी श्रीमती सावित्री थापाको नाममा स्थापित उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । प्रतिष्ठानले नेपाली लोकसाहित्य र संस्कृतिको श्रीवृद्धिमा ७ दशक अघिदेखि समर्पित भई विभिन्न माध्यमबाट राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा योगदान गरेबापत जोशीलाई पुरस्कृत गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले राष्ट्रियता बोलीमा नभई व्यवहारमा हुनुपर्ने भन्दै मुलुकको कला संस्कृतिको रक्षा गर्नुपर्ने बताए । उनले विविधता बीचको एकता कायम गर्दै सबै जात जातिको भाषा, धर्म, कला, संस्कृतिको रक्षा गर्दै मुलुकको समृद्धिमा अघि बढ्नुपर्ने जिकिर गरे ।

पुरस्कार ग्रहण गर्दै शताब्दी पुरुष तथा संस्कृतिविद् जोशीले उक्त पुरस्कार ग्रहण गर्दाको क्षण जीवनको सबैभन्दा महत्वपूर्ण क्षण रहेको बताए । उनले नेपालको संस्कृति विश्वकै उत्कृष्ट भएको भन्दै सबैले यसको रक्षा गर्नुपर्नेमा जोड दिए ।

यसअघि गोविन्दबहादुर गुरुङ, भैरवबहादुर थापा, नारायण कला मन्दिर, ज्ञानु राणा, कुमार बस्नेत लगायतले उक्त पुरस्कार पाइसकेका छन् ।

shares