Breaking News

सरकारलार्इ असफल बनाउन विरोधीहरूले अफवाह फैलाएको प्रधानमन्त्रीको आरोप

काठमाण्डौ, १ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध विरोधीहरूले अफवाह फैलाएको भन्दै नेता तथा कार्यकर्ताहरूलाई त्यसको प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

पार्टी कार्यालय धुम्वाराही मंगलबारमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले सरकारलाई सफल हुन नदिन विरोधीहरूले अफवाह फैलाएको आरोप लगाउँदै प्रतिवाद गर्न निर्देशन दिएका हुन् । सुशासन ल्याउने प्रतिवद्धताबाट आफू विचलित नहुने बताउँदै ओलीले संविधान, नियम, कानून र विधि अनुसार सरकारले काम गर्ने स्पष्ट पारे ।

अन्य सरकारको भन्दा यस सरकारको उद्देश्य फरक रहेको बताउँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देशलाई थितिमा हिँडाउन चाहेको बताए । दुई–चार महिनामै समृद्धि हासिल गर्न नसकिने भएकाले धैर्य गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

चुनावभन्दा अघिको सरकारले देशमा जथाभावी गरेकाले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको उनले बताए । उनले मुलुकको समृद्धि र विकासका लागि राष्ट्रिय अभियानलाई सफल पार्न सबै एक भएर लाग्नुपर्ने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन महिनासम्म सत्ता हस्तान्तरण नगरेर कांग्रेसले विधि विधान विपरीत गरेको आरोप लगाए ।

shares