Breaking News

सरकारविरुद्ध सदन र सडक संघर्ष गर्ने कांग्रेसको निर्णय

काठमाण्डौ, १ साउन । बहुुमतका नाममा सरकारले अधिनायकवादी रबैया देखाएको भन्दै मुख्य विपक्षी दल नेपाली कांग्रेसले संसद र सडक संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकवादी शैली विरुद्ध कांग्रेसले साउन ३ गतेदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । त्यसक्रममा साउन १५ गते ७७ वटै जिल्लाका सदरमुकाममा विरोध प्रदर्शन गरिनेछ । पार्टी मुख्यालय सानेपामा आज बिहान पार्टीका भातृ तथा शुुभेच्छुक संस्थाका प्रमुुखहरुसंगको बैठकमा उपसभापति विमलेन्द्र निधिले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । जसअनुुसार साउन ३ गते संसद अवरुद्ध गर्ने र सोही दिन सडकमा विरोध प्रदर्शन गरिनेछ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभामा पनि माथेमा कार्यदलको प्रतिवेदनका आधारमा यसअघि नै संसदमा दर्ता गराइएको चिकित्सा शिक्षा विधेयक हुुबहुु पारित गर्नुपर्ने भन्दै साँसदहरूले विरोध गर्ने कार्यक्रम रहेको छ । सोही दिन नेपाल चिकित्सक संघ र प्रजातन्त्रवादी प्राध्यापक संघको अगुवाईमा माइतीघर मण्डलाबाट सुरु हुने विरोध प्रदर्शन नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा अगाडि पुुगेर कोणसभा गरिनेछ । विरोध प्रदर्शनमा कांग्रेसले आफ्ना सबै भातृ तथा शुुभेच्छुक संस्थाका सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

कांग्रेस उपसभापति निधिले सरकारले चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक कसैको स्वार्थमा ल्याएको भन्दै त्यसका विरुद्ध आन्दोलनमा जानु परेको बताए । अनसनरत डा. केसीको जीवनप्रति सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत भएको भन्दै उनले केसीको स्वाथ्यमा तलमाथि भए सरकार नै जिम्मेवार हुनुुपर्ने उल्लेख गरे ।

चिकित्सा शिक्षाको विरोधमा तरुण दलले साउन ५ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी, साउन ६ गते बीपी कोइरालाको स्मृति दिवसको अवसरमा केन्द्र र जिल्लामा विविध कार्यक्रम गरी मनाइने भएको छ ।

shares