Breaking News

विधान र नियमावली छिट्टै प्रकाशन गर्ने नेकपाको निर्णय

काठमाण्डौ, १ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टीको विधान र नियमावली छिट्टै सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको नेकपा सचिवालय बैठकले पार्टीको विधान र नियमावली प्रकाशन गर्ने निर्णय गरेको हो । नियमावलीमा सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका रूपमा भाग लिन अनिवार्य रूपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ ।

विगतमा एमालेले प्रतिनिधि निर्वाचनको प्रणाली अभ्यास गर्दै आए पनि माओवादी केन्द्रमा आवधिक र नियमित महाधिवेशन/अधिवेशन नभएकाले यस्तो अभ्यासको कार्यान्वयन भएको थिएन । बैठकले आधारभूत तहसम्मको एकतालाई एकता घोषणामा उल्लेख भएको अवधि तीन महिना भित्र पूरा गरिसक्ने गरी काम गर्ने निर्णय पनि गरेको पार्टी महासचिव बिष्णु पौडेलले जानकारी दिए ।

विधान र नियमावली प्रकाशनपछि तल्ला कमिटीको एकताका लागि यसअघि पार्टी सचिवालयले गठन गरेका सम्बन्धित कार्यदलले प्रतिवेदन बुझाउने र कमिटीको एकताको विस्तृत कार्ययोजना तय गर्ने बताइएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकारले गरेका काम र विभिन्न निर्णयका बारेमा अवगत गराउनुभएको महासचिव पौडेलले बताए ।

shares