Breaking News

डा. केसीको मागमा समर्थन जनाउँदै चिकित्सकहरूको प्रदर्शन

काठमाण्डौ, १ साउन । आवासीय चिकित्सकहरूको संगठन रेजिडेन्ट्स एसोसियसन अफ न्याम्स (आरएएन) ले अनसनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउँदै काठमार्डौंमा प्रदर्शन गरेको छ ।

उनीहरूले मंगलबार काठमाडौंमा माईतिघरमा प्रर्दशन गर्दै अनसन बसिरहेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै छिटो भन्दा छिटो माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । उनीहरूले ‘दुई तिहाई पायो भन्दैमा जनता मार्न पाइँदैन’, ‘मार्सी धानको भातसँग ऐन मास्न पाइँदैन’, तिम्रो मार्सी भोजनले समाजवाद आउँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यता जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकार पक्षका प्रतिनिधिबीचको वार्ता मंगलबार पनि बिना निष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा अर्को वार्ता कहिले हुने भन्ने विषयमा समेत सहमति जुटेन ।

वार्तामा सरकारी प्रतिनिधिले पहिले केसीलाई काठमाडौं ल्याउनुपर्ने र उपचार गराउनुपर्ने बताएको थियो भने केसी पक्षले पहिले विधेयक फिर्ता हुनुपर्ने अडान राखेका थिए । दुवै पक्षबीच आआफ्ना अडानमा रहेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।

वार्तामा सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी सहभागी थिए । जुम्लामा १८ दिनदेखि अनसनरत डा. केसीले चिकित्सा शिक्षा विधेयक फिर्ता नगरेसम्म अनशन नतोड्ने बताउँदै आएका छन् ।

shares