Breaking News

हाजिर गर्न नदिइएको विरोधमा कर्मचारीहरूले दिए मन्त्रालयमा धर्ना

काठमाण्डौ, १ साउन । करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीलाई मंगलबारबाट हाजिर गर्न नदिने निर्णयको विरोधमा कर्मचारीहरूले सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् ।

सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरेपनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरेपछि उनीहरु मन्त्रालयमा पुगेका हुन् । अन्य कर्मचारीसरह आफूहरू काम गर्दा पनि सरकारले बिना कुनै सुविधा आफूहरूलाई हाजिर गर्न नदिएको उनीहरूको गुनासो छ ।

सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित भएका छन् । त्यस्ता कर्मचारीको संख्या काठमाडौंमा मात्र करिब १३ हजार छ ।

संघ (केन्द्र)देखि जिल्ला र स्थानीय तहसम्मका कार्यालय खारेज र मर्ज भएपछि करार र ज्यालादारी कर्मचारीलाई हाजिर गराउन नसकिने जानकारी यसअघि नै दिइसकिएको थियो ।

shares