Breaking News

डा. केसीको जीवन रक्षाको लागि सरकार गम्भीर: खगराज अधिकारी

काठमाण्डौ, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता खगराज अधिकारीले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भीर रहेको बताएका छन् ।

रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले कांग्रेसले संसद अवरोध गरेर गल्ति गरेको आरोप लगाउँदै स्वास्थ्यमन्त्री संसदमा बोल्न नदिएर समस्याको समाधान हुन नसक्ने बताए ।

विज्ञहरूको सुझाव र डा.केसीले उठाउनु भएका मागहरूलाई उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । उनले भौगोलिक स्थितिलाई मात्रै आधार मानेर मेडिकल कलेज खोल्न नहुनेमा जोड दिए ।

साक्षात्कारमा कांग्रेसका नेता सञ्जय गौतमले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीका मागहरू तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले अनशनरत डाक्टर केसीलाई कांग्रेसको कार्यकर्ताका रूपमा परिभाषित गरेर सरकारले गल्ति गरेको भन्दै तत्काल केसीको जीवन रक्षा गर्न समेत माग गरे ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरे ।उनले नेपालमा एम.बि.बिएसको गुणस्तरीय पढाई सञ्चालन गर्न सकेको खण्डमा विदेशबाट विद्यार्थीहरू पढ्न आउने विश्वास व्यक्त गरे ।

shares