Breaking News

जंगली च्याउले लियो ३ जनाको ज्यान

दाङ, १ साउन । घोराही उपमहानगरपालिका–१९ मा जंगली च्याउ खाँदा केही दिनयता ३ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेहरूमा पाँचपोखरीका ४० वर्षीय चित्रबहादुर घर्ती, १९ वर्षीय बालाराम घर्ती र ५ वर्षीया प्रशंशा घर्ती रहेका छन् । घर्तीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोमबार बेलुका नजिकैको जंगलबाट च्याउ ल्याएर खाएपछि गम्भीर बिरामी परेका घर्तीलाई उपचारका लागि सोमबार नै राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा भर्ना गरिएको भएपनि त्यहाँबाट थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगिएको थियो ।

उपचारकै क्रममा उनको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार घोराही १९ कै १९ वर्षीय बालाराम घर्तीको पनि उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमै मृत्यु भएको थियो। जंगली च्याउ खाएर गम्भीर बिरामी भएकी ५ वर्षीया प्रशंशा घर्तीको पनि असार २९ गते उपचारको क्रममा कोहलपुरमै ज्यान गएको थियो ।

विषालु च्याउ खाँदा बिरामी भएका करिब आधा दर्जन व्यक्तिको बाँकेमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । पछल्लो समय तुलसीपुर र घोराही क्षेत्रमा जंगली च्याउ खाएर बिरामी हुनेको संख्या करिब ४ दर्जन पुगेको प्रहरीले जनाएको छ ।

shares