Breaking News

डा. केसीलाई मानव ढाल नबनाउन आग्रह

काठमाण्डौ, ३२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले अनशनरत डाक्टर गोविन्द केसीलाई बाध्य बनाएर मानव ढाल बनाउने काम गरेको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले डाक्टर केसीलाई मानव ढाल नबनाउन आग्रह गरेका हुन् । उनले ऐन सडकबाट पारित गर्नेजस्तो कुरा गर्न नहुने धारणा राखे ।

डाक्टर केसीको अनशन धेरै पटक भएकोले कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा केसीको माग किन पूरा गरेनन् भनेर बडालले प्रश्न गरे । ६० लाख मानिस काठमाडौंमा बस्ने भएकोले काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्नै हुँदैन भन्नु काठमाडौंका जनताविरुद्ध अपराध गरेको उनको भनाइ छ ।

साक्षात्कारमा कांग्रेसका नेता महेन्द्र यादवले अनशनरत डाक्टर गोविन्द केसीका मागहरू सरकारले शतप्रतिशत पूरा गर्नुपर्ने बताए । नेता यादवले डाक्टर केसीले मेडिकल शिक्षालाई राम्रो र गुणस्तरीय बनाउनको लागि विगत लामो समयदेखि प्रयास गरिरहेको बताए ।

विगतमा ५७ दिनसम्म संसद अवरुद्ध गर्ने पार्टी नै अहिले सरकारमा भएकोले कांग्रेसले जायज मागहरू सम्बोधन गर्नुपर्छ भनेर संसद अवरोध गर्दा किन आत्तिएको भन्दै नेता यादवले सरकारलाई प्रश्न गरे ।

shares