Breaking News

ललितपुर महानगरपालिकाको ४ अर्ब ६० करोडको बजेट सार्वजनिक

ललितपुर, ३२ असार । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले दोस्रो नगरसभाबाट पारित बजेट सार्वजनिक गरेका हुन् । महानगरपालिकाको चालू प्रशासनिक खर्च रु एक अर्ब छ करोड ५० लाख अनुमान गरिएको छ । व्ययतर्फ चालू सामाजिक सुरक्षा भत्ता रु ३० करोड र पूँजीगत कार्यक्रम खर्च रु दुई अर्ब ४० करोड आठ लाख ३७ हजार अनुमान गरिएको छ ।

वैदेशिक अनुदान कार्यक्रममार्फत रु ८२ करोड १४ लाख ५० हजार र सडक बोर्डमार्फत रु दुई करोड खर्च हुने अनुमान गरिएको छ । आगामी आवको प्रस्तावित आयमा रु ९२ करोड ७८ लाख (२० प्रतिशत) संघीय सरकार र प्रदेश सरकारबाट अनुमानित आय विनियोजन गरिएका प्रमुख महर्जनले जानकारी दिए । बजेट सार्वजनिक गर्दै महर्जनले पहिलो एक वर्ष महानगरलाई समृद्ध, सुशासित र सुविधायुक्त बनाउन लागिपरेको बताए ।

महानगरले आन्तरिक स्रोतबाट रु एक अर्ब ७७ करोड ५४ लाख र वैदेशिक अनुदानतर्फ रु ८२ करोड १४ लाख ५० हजार अनुमान गरिएको छ । सडक बोर्ड, सामाजिक सुरक्षा भत्ता, राजश्व बाँडफाँड, मौज्दात रकम र अन्य विविध आय महानगरपालिकाले अनुमान गरेर बजेट विनियोजन गरेको हो ।

shares