Breaking News

रक्सौल-काठमाडौं रेल निर्माण सम्झौतामा छिट्टै हस्ताक्षर हुने

काठमाण्डौ, ३२ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रक्सौल काठमाडौं रेल निर्माण सम्झौतामा छिट्टै हस्ताक्षर हुने बताएका छन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले रक्सौल काठमाडौं रेल निर्माणको एमओयुको ड्राफ्ट तयार भएको र परामर्श र प्रतिक्रिया लिने काम भैरहेको जानकारी दिए । उनले दुईपक्षीय छलफल पछि छिट्टै उक्त सम्झौतामा हस्ताक्षर हुने बताए ।

त्यस्तै भारतीय पक्षले गरेको प्रारम्भिक अध्ययनमा नारायणी नदीमा ‘इन ल्याण्ड वाटर वे’ निर्माण हुन सक्ने देखिएको ज्ञवालीले जानकारी दिंदै २ वर्षभित्रमा तीन सय मेट्रिकटन क्षमताको जहाज नेपाल आउन सक्ने धारणा राखे । सबै काम सही ढंगले अगाडि बढे ३ सय मेट्रिकटन क्षमताको जहाज गण्डक ब्यारेजसम्म आउने र यसमा प्राविधिक सहयोग भारतले गर्ने उनको भनाइ छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा ‘इन ल्याण्ड वाटर वे’ निर्माणको सम्झौता भएको थियो । मन्त्री ज्ञवालीले भारत र चीन भ्रमणका बेला भएको सहमति र सम्झौताको कार्यान्वयनका लागि सरकार गम्भीर भएर अघि बढेको जानकारी पनि दिए । त्यस्तै उनले मन्त्रीपरिषद्बाट राजदूतको नियुक्ति सम्बन्धी निर्देशिका २०७५ स्वीकृत गरेको जानकारी दिए ।

नयाँ निर्देशिका अनुसार अब राजदूतहरूको वर्गीकरण नहुने मन्त्री ज्ञवालीले जानकारी दिए । उनले नियुक्तिको प्रक्रियामा कुनै पनि देशको पिआर नलिएको, भ्रष्टाचारको आरोप नलागेको, नियुक्त भईजाने मुलुकमा सम्पादन गर्ने कामका बारेमा जानकारी हुने व्यक्ति मात्र राजदूतको सिफारिसमा पर्ने जानकारी दिए ।

मन्त्रीपरिषद् बैठकले भारतका लागि राजदूत पदमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई सिफारिश गरेको पनि उनले जानकारी दिए ।

shares