Breaking News

नेपाललार्इ दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियनको उपाधि

काठमाण्डौ, ३२ असार । नेपालले दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ ।

नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० काँस्यका साथ टिम च्याम्पियनको उपाधि हात पार्यो । दोश्रो स्थानमा रहेको भारतले समग्रमा ४३ स्वर्ण, ४० रजत र ३९ कास्यँ जित्न सफल भयो । तेश्रो स्थानमा रहन सफल तुर्किमिनिस्तानले ७ स्वर्ण, २ रजत र १ कास्य जितेको थियो ।

नेपालले जुनियर र सिनियर दुबै समूहमा पनि टिम च्याम्पियनको उपाधि हात पारेको छ । जुनियरतर्फ प्रथम स्थान हात पारेको नेपालले ३४ स्वर्ण ४३ रजत र ६१ काँस्य प्राप्त गर्दा दोश्रो स्थानमा रहेको भारतले ३४ स्वर्ण,१२ रजत र १२ काँस्य ल्याउदै ठूलो चुनौती पेश गरेको थियो ।

सिनियरतर्फ भने नेपालले भारतलाई निक्कै पछि पार्न सफल भयो । नेपालले पहिलो स्थानका लागि १९ स्वर्ण,१२ रजत र १९ काँस्य जित्दा दोश्रो स्थानमा रहेको भारतले भने ९ स्वर्ण, १७ रजत र २७ काँस्यमा चित्त बुझाउनु पर्यो ।

प्रतियोगितामा ३ स्वर्ण जितेकी रुबिका खड्काले सिनियर महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १८ देखि ३९ सम्मको ब्लकबेल्टको स्पाईरिङमा स्वर्ण जित्दा, टिम स्पाईरिङ र टिम प्याटनमा नेपाललाई स्वर्ण दिलाउँदा महत्वपूर्ण सदस्य थिइन् ।

सिनियर पुरुषतर्फ तुकिमिन्तानका घोसान याजोङले उत्कृष्ट खेलाडीको उपाधि जिते । जुनियर महिलातर्फ भारतकी के काभना तथा पुरुषतर्फ चीनका याङ पिङलिङले उत्कृष्ट खेलाडीको उपाधि जिते ।

तीन दिने प्रतियोगिताको विजेता खेलाडीलाई शिक्षा मन्त्री गिरीराजमणी पोखरेल, आयोजक नेपाल इन्टरनेश्नल तेक्वान्दो संघ(आईटिएफ) का अध्यक्ष अन्जन धमलालगायतले पुरस्कृत गरेका थिए ।

shares