Breaking News

भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

काठमाण्डौ, ३२ असार । सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो । यस्तै सरकारले यूएईका लागि पूर्व राजदूत उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

प्रस्तावित राजदूत उप्रेतीले भूटान र अफगानिस्तानका लागि तथा पाण्डेले इण्डोनेसिया र ब्रुनाई दारेसलामका लागि गैरआवासीय राजदूतका रुपमा पनि हेर्ने प्रवक्ता बास्कोटाले जानकारी दिए । दीपकुमार उपाध्यायले राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन छ ।

त्यस्तै सरकारले हालै मात्र राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले फिर्ता बोलाउने निर्णय गरेको कारण उक्त स्थानमा परराष्ट्र सचिव शंकर बैरागीलाई पठाउन चाहेपनि उनले सचिवको कार्यकाल पूरा गर्ने चाहना प्रकट गरेपछि त्यस ठाउँमा मन्त्रालयकै सहसचिवलाई पठाउने सम्भावना छ ।

यस्तै यूएईका लागि राजदूत पद पनि रिक्त रहेको छ । सरकारले हालै पारित गरेको मापदण्ड अनुसार कर्मचारीबाट ५० प्रतिशत पठाउने उल्लेख रहेकाले राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिसँगै यूएईको राजदूतमा पनि कर्मचारीबाट पठाउने तयारी गरेको परराष्ट्र स्रोतले जनाएको छ ।

shares