Breaking News

संसद भवन अगाडि धर्ना दिंदा मानवअधिकारकर्मी पक्राउ

काठमाण्डौ, ३२ असार । नयाँ बानेश्वरस्थित् संसद भवन अगाडि धर्ना दिने क्रममा कृष्ण पहाडीलगायतका मानवअधिकारकर्मीहरू पक्राउ परेका छन् ।

सरकारले स्वतन्त्रता विरोध र स्वेच्छाचारी निर्णय तथा गतिविधि गरेको विरोधमा मानवअधिकार तथा शान्ति समाजले संसद भवनको ३ नम्बर गेट अगाडि धर्ना दिने क्रममा धर्नामा बसेका २० भन्दा धेरै अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

पक्राउ पर्नेमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, केन्द्रीय सदस्य गिता तिमल्सिना, बाबुहरी आचार्य, काठमाडौं शाखा सभापति रामकृष्ण बराललगायत रहेका छन् ।

धर्नामा ‘सत्याग्रहीको जीवन रक्षा गर, स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, अपराधीलाई संरक्षण बन्द गर’ लगायतका प्लेकार्डहरू प्रदर्शन गरिएका थिए । गिरफ्तारपछि उनीहरूलार्इ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको समाजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी निर्णय गरेको भन्दै त्यसको विरोधमा मानव अधिकार तथा शान्ति समाजले यसअघि विभिन्न समयमा प्रधानमन्त्री कार्यालय सिंहदरबार, प्रधानमन्त्री निवास वालुवाटार अगाडि पनि धर्ना दिइसकेको छ ।
shares