Breaking News

प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाण्डौ, ३२ असार । सरकारले संसदमा दर्ता गराएको चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुवातमै काँग्रेसका सांसदहरूले चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै उभिएर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो । उनीहरूले अनशनरत डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप पनि लगाएका छन् ।

बैठकमा काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले सरकारले माथेमा आयोगको भावना र मर्मविपरितको चिकित्सा शिक्षा विधेयक सदनमा प्रस्तुत गर्न लागेको आरोप लगाए । उनले विगतको सरकारले माथेमा आयोगको भावना र मर्मअनुसारका चिकित्सा शिक्षा आयोग अध्यादेशमार्फत जारी गरेको जानकारी गराए । उनले सरकारले गम्भीर विषयलाई पनि उखान टुक्कामा उडाउने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

बैठकमा नेकपाका सांसदहरूले भने कांग्रेसले संसद्को अवरोध गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । बैठकमा नेकपाका सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति जनाउँदै नियमित प्रक्रियाबाट नै विधेयक पेश हुने बताउँदै कसैले पनि संसदीय अभ्यासलाई मिच्न नहुने बताए । नेकपाका अर्का सांसद खगराज अधिकारीले प्रतिपक्ष दलसँग समेत छलफल गरेर सहमतिमा ल्याएको विधेयकलाई अघि बढाउन अवरोध गर्दा सहमति उल्लघंन भएको बताए ।

सभामुखको पटक-पटकको आग्रहपछि पनि काँग्रेसका सांसदहरू उभिरहेपछि सभामुख कृष्णबहादुर महराले संसद् बैठक स्थगन गरेका हुन् ।

shares