Breaking News

आँपले उचित मूल्य नपाउँदा महोत्तरीका किसान चिन्तित

बर्दिबास, ३२ असार । महोत्तरी जिल्लामा यसपालि आँपले उचित मूल्य नपाउँदा किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका यस जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले पिरोलिएका छन् ।

आँपको मुख्य माग हुने असारे पन्द्र पर्वतामा पनि यसपालि आँपको मूल्य बगैँचामा १० रुपैयाँ प्रतिकिलो मात्र रहेको यहाँका किसानको गुनासो छ। ‘आँप त ठीकै फलेको हो’ बर्दिवास–९ पशुपतिनगरका किसान सुरजसिंह कुशवाहाले भने, ‘तर कौडीको मूल्यमा बेच्नु प¥यो, वर्षभरिको गुजारा अब कसरी टार्ने होला।’ गत वर्ष ७० रुपैयाँ प्रतिकिलोसम्म बिक्री भएको बताउँदै सम्झँदै कुशवाहाले यसपालि भने १०० बोट आँपबाट ५० हजार रुपैयाँ आम्दानी लिन पनि नसकिएको गुनासो गरे ।

महोत्तरी जिल्लामा बर्दिवास नगरपालिकाका खयरमारा, माईस्थान, बिजलपुरा, पशुपतिनगर र किसाननगर गौशाला नगरपालिकाका भरतपुर, रजखोर, लक्ष्मीनियाँ, बिसरपुर, फुलकाहा, बेलगाछी र भाण्टाबारी आँप खेतीका लागि कहलिएका ठाउँ हुन् । त्यसैगरी भंगाहा नगरपालिकाका रामनगर, जलेश्वर नगरपालिकाका पर्सापतैली, पिगौना र परिकौली र पिपरा गाउँपालिकाकाको पिपरा आँप खेतीका लागि पकेट क्षेत्र मानिन्छन् ।

गत वर्ष जिल्लामा आँप राम्रो नफलेकाले यसपालि बगैँचा खरिदप्रति व्यापारीले रुची नदेखाउँदा धेरैजसो बगैँचा किसान आफैँले रेखदेख गरेका थिए । ‘अरु वर्षजस्तो पहिले व्यापारी झुम्मिएनन्,’ भंगहा–४ रामनगरका किसान गंगाराम महतोले भने, ‘आँप टिपेर बजार पु¥याइएको ज्याला पनि बिक्रीबाट पाइएन।’  किसानले आँप बिक्रीबाट राम्रो आम्दानी लिन नसके पनि अहिले असार निकल्दो भने व्यापारीले भण्डारण गरेका आँपको मूल्य प्रतिकिलो रु ५० नाघेको छ ।

साउन महिना शिव उपासना गर्दा फलाहार मात्र गर्ने धार्मिक, सामाजिक परम्पराको फाइदा उठाउँदै व्यापारीले १० रुपैयाँ प्रतिकिलो लिएका आँप अहिले प्रतिकिलो ५० रुपैयाँ नघाइसकेका उपभोक्ताहरु बताउँछन् ।  महोत्तरीमा करिब तीन हजार हेक्टर क्षेत्रफलमा उत्पादन दिइरहेका आँपका बोट र आउने वर्ष उत्पादन दिने बोट ५०० हेक्टरमा रहेका जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ । -रासस

shares