Breaking News

युवा विदेश पलायन हुदाँ रोपाईँ ढिला

शिवलाल सुवेदी/गुल्मी, ३२ असार । पहिले-पहिले असार १५ मा रोपाइँ सिध्याउने धुर्कोट गाउँपालिका ६ की खिमकला भण्डारीले हालसम्म रोपाइँ गर्न सकेकी छैनन् । रोपाई गर्न ढिला भएकोमा भण्डारी चिन्तामा छिन् ।

पहिले-पहिले श्रीमान् विदेशमा भएपनि छोरा बुहारी घरमा भएकाले समयमै रोपाई सक्ने उनले अहिले भने काम गर्ने मजदुरको अभावका कारण रोपाई ढिला भएको हो । उनी जस्तै गाउँका छिमेकी वेदुराम भण्डारीले पनि यसपटक आफ्नो खेत रोप्नै पाएका छैनन् । उनको पनि समस्या धान रोप्नका लागि मजदुरकै अभाव हो । गाउँमा खेताला अभावले सास्ती झेल्ने उनीहरु जस्ता धेरै किसान छन् ।

कृषिमा मजदुरी गर्न मजदुरहरू गाउँमा नभएपछि यस्तो समस्या हुन थालेको हो । पछिल्लो समय काम गर्ने युवाहरू विदेश पलायन भएपछि धान रोपाइँ गर्न किसानलाई समस्या भएको छ । खेताला नपाएपछि चर्को पारिश्रमिक दिएर भएपनि खेती गर्नुपरिरहेको किसानको भनाइ छ । यस बर्ष असारको २० गतेपछि मात्र वर्षा भएकाले एकैपटक जिल्लाभर रोपाई शुरु हुनाले पनि धान रोपाइँ गर्न किसानलाई मजदुर पाउन मुस्किल भएको हो । किसानले गाउँमा खेताला पाइहाले पनि मागेजति ज्याला दिन सक्दैनन् ।

एकातिर धान रोप्ने खेताला नै पाइँदैनन् धुर्कोट गाउँपालिका ६ की खिमकलाले भनिन्, ‘खेताला पाइहालेपनि एक हलमै १० हजार सकिन्छ, रोपाईँ धेरै महङ्गो भयो । पहिले-पहिले घरघरै छोरा मान्छेहरू हुँदा आलोपालो गरेर रोपाइँ गरिन्थ्यो अहिले त खेताला खोज्दा पनि युवाहरू कोही छैनन् गाउँमा खेतीपाती गर्न समस्या छ’ भण्डारीले गुनासो गरिन् ।

काम गर्ने युवा गाउँमा नभएको र बाँकी युवाले चर्को पारिश्रमिक लिने गरेको समेत उनले बताइन् । उनीजस्तै इस्मा गाउँपालिका अम्मरपुरका किसान रामप्रसाद पाण्डेका अनुसार अहिले गाउँमा युवा जनशक्ति छैनन् नभएकाले रोपाई प्रभावित भएको बताए । ‘माध्यमिक तहको पढाइ सकेका तन्नेरी रोजगारीका लागि विदेश र सहर पुग्छन्’ पाण्डे भन्छन् ‘अहिले रोपाइँ गर्ने समय छ, गाउँमा खेताला खोज्दा पाइँदैन, समयमै खेत रोपिएन भने खेती पछि पर्न सक्छ ।’

उनले मजदुरको अभावका कारण कामदारलाई चर्को मूल्य तिरेर भए पनि खेती गर्नु बाध्यता बताए । किसानहरू बढी पैसा तिरेर खेताला लैजान होडबाजी गर्नुपर्ने बाध्यता समेत रहेको उनको अनुभव छ । उनले यस्तै अवस्था रहे भविष्यमा गएर किसानले धान खेती गर्न छाड्न सक्ने बताए । उनका अनुसार खेत जोताइ, रोपाइँ, गोडमेल, मल र कटाइको हिसाब गर्ने हो भने आम्दानीभन्दा बढी खर्च हुन्छ ।

‘सहर झरेका छोराछोरी गाउँ फर्किंदैनन्’ मुसिकोट नगरपालिका तल्लाफाटँका जिवन खरेलले भने, ‘गाउँका खेतबारी सबैका बाँझिए ।’ विवाहित युवा विदेशिने र तिनका श्रीमती विभिन्न बहानामा बजार बस्ने चलनले अझ बढी समस्या भएको बूढापाकाहरू बताउछन् ।
जिल्ला कृषि विकास कार्यालय गुल्मीका अनुसार असार सकिदाँ जिल्लाको बर्खे धान खेती हुने जमिनको ६० प्रतिशत जमिनका मात्र रोपाईँ भएको जनाएको छ । जिल्लाका अधिकाशं युवा जनशक्ति वैदेशिक रोजगारीमा लगायत सरकारी सेवा, विद्यार्थी, जिल्ला बाहिर व्यवसाय गर्नेको संख्या त्यत्तिकै रहेकाले रोपाईँ ढिला भएको जनाएको छ ।

विविध कारणले कृषि मजदुरको अभाव र ढिला वर्षा भएकै कारण रोपाईँ ढिलाइ भएको कृषि कार्यालयले जनाएको छ । केही वर्षयता कृषिमा यान्त्रिकरण भित्र्याउंदै कृषि कार्यालयले पावर टिलर वितरण सुरु गरेको थियो । कृषिमा सुरु गरिएको यान्त्रिकरण भने केही सहज भएको कार्यालयको दाबी छ । वितरित उपकरण खनजोतका लागि उपयोगी भएपनि धान रोप्ने विधि पुरानै छ । रोपाइँ खेतालाले हातैले नगरी हुँदैन ।

कृषि विकास कार्याल्य गुल्मीका प्रमुख चक्रपाणी पन्थीका अनुसार युवा जनशक्ति कम भएकाले भएका केही कामदारलाई भ्याइनभ्याइ रहेको बताए । अहिले सबैतिर आत्तुरी छ उनले भने‘ पहिले पहिले असार सकिदाँ रोपाई सकिन्थ्यो, साउन लाग्दा समेत ६० प्रतिशत रोपाई बल्ल भएको छ ।’

shares