Breaking News

डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा

भक्तपुर, ३२ असार । धार्मिक तथा पर्यटकीयस्थल केदारनाथको शीर डोलेश्वर महादेवको मन्दिरमा भोलि श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म ३७ दिने श्रावणी मेला लाग्ने भएको छ ।

उक्त मेलाको लागि आवश्यक तयारी पूरा भैसकेको केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिए ।

३७ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरूको सहजताका लागि लाईनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको उनले बताए ।

यो वर्षको मेलामा २० लाख बढी भक्तजनहरूले मन्दिरमा पूजाआजा गर्नुका साथै दर्शन गर्न आउने अायोजकले बताएको छ । मेलामा २ करोड बराबरको रकम संकलन हुने र मेलामा करिब २० लाख रुपैयाँ खर्च हुने समितिको कोषाध्यक्ष विश्वराम थापाले बताए । उनका अनुसार सो रकम गुरुयोजना कार्यान्वयन गर्नमा खर्च गरिने छ ।

भोलि श्रावण १ गते विहान ७ बजे चन्द्रविनायक मन्दिर सिपाडोलदेखि डोलेश्वर मन्दिर परिसरसम्म कलशयात्रा गरी ३७ दिने मेलाको सुरुवात गरिने छ ।

shares