Breaking News

२१ अाैं फिफा विश्वकपकाे उपाधी फ्रान्सलाई

काठमाडौं ३१ असार ।  रुसकाे राजधानी  मस्कोस्थित लुज्नीकी स्टेडियममा  एकमहिना देखि सञ्चालित फिफा विश्वकपकाे उपाधी फ्रान्सले जितेकाे छ ।

आइतबार भएको फाइनल खेलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएर फ्रान्स २१ औं विश्वकपको च्याम्पियन बन्यो । २० बर्ष अघि अर्थात १९९८ मा जिनेदिन जिदानको नेतृत्वमा फ्रान्सले पहिलो पटक विश्वकपकाे ट्रफी उचालेकाे थियो ।

फ्रान्सलाई २१ औं विश्वकप संस्करणको च्याम्पियन बनाउन युवा खेलाडी एन्टोइन ग्रीजम्यान, पउल पोग्बा र किलिएन एम्बाप्पेले एक एक गोल गरे । फ्रान्सले एक गोल मारियो मान्डजुकीचको आत्मघाती गोल उपहार पाएको थियो । क्रोएसियाको तर्फबाट इभान पेरिसिच र मान्डजुकीचले एक–एक गोल गरेका थिए ।

१८ औं मिनेटमा ग्रीजम्यानको फ्रिकिकलाई हेडबाट क्लियर गर्न खोज्दा मान्डजुकीचले आफ्नै पोस्टमा गोल गरेका थिए ।  २८ मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो ।

३४ औं मिनेटमा पेरिसिचको ह्यान्डबल भएपछि फ्रान्सले पेनाल्टी किक पायो । जसलाई ग्रिजम्यानले प्रहार गरे तर गोलकिपर सुहासिच उल्टो दिशामा डाइभ मारेपछि फ्रान्स २–१ को अग्रतामा रह्यो । यो ग्रिजम्यानको तेस्रो पेनाल्टी गोल हो भने यो विश्वकपमा उनको व्यक्तिगत चौथो गोल थियो ।

दोस्रो हाफमा पनि ३ गोल नै भए । पउल पोग्बाले ५९ औं मिनेटमा डिबक्सबाटै गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रतामा राखे । ६५ औं मिनेटमा किलिएन एम्बाप्पेले करिब २२ यार्डबाट गोल थप्दा फ्रान्सले विश्व च्याम्पियन बन्ने लगभग तयारी गर्यो। यद्दपि मान्डजुकिचले गोलकिपर लोरिसको क्लियर गर्न लाग्दा एक गोल गरेर गोलअन्तर ४–२ मा खुम्च्याए ।

तर यो गोलले क्रोएसियाको अघिल्ला खेलमा परिकल्पना भएको परिकथाको शृंखलामा थप रोमाञ्चक भने थप्न सकिएन । उनले ६९ औं मिनेटमा गोल गरेपछि बाँकी २१ मिनेटमा उनीहरु थप गोल गर्न असमर्थ भए । क्रोएसियाको पहिलो विश्वकप फाइनल नै ऐतिहासिक बनेको छ ।

shares