Breaking News

माथेमा कार्यदलको मूल स्पीरिटका साथ चिकित्सा शिक्षा विधेयक ल्याइएको शिक्षामन्त्रीको दाबी

काठमाण्डौ, ३१ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माथेमा कार्यदलको मूल स्पीरिटका साथ चिकित्सा शिक्षा विधेयक ल्याएको दाबी गरेका छन् ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पोखरेलले माथेमा कार्यदल विपरीत विधेयक ल्याएको हल्ला चलाइएको भन्दै यस विषयमा सबैसंग बहस र छलफल गर्न तत्पर रहेको बताए । चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि माथेमा प्रतिवेदनको मूल स्पीरिटका आधारमा नै विधेयक ल्याएको उनको भनाइ छ ।

संविधान जारी हुनुभन्दा अघि ७१ सालमा बनेको कार्यदलले ७२ सालमा प्रतिवेदन बुझाएको भन्दै उनले संघीयताको मर्म र भावना अनुरुप प्रतिवेदनलाई मिलाइएको तर्क गरे । मन्त्री पोखरलले स्वास्थ्य शिक्षा सुधारका लागि आयोग बनाउन सहज वातावरण बनाउनुपर्ने भन्दै मेडिकल कलेज स्थापनाको विषय आयोगले नै निर्धारण गर्ने बताए ।

यस्तै मन्त्री पोखरेलले अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइरहेको भन्दै स्वास्थ्य अवस्था गम्भीर भए सरकारले काठमाण्डौ ल्याएर उपचार गर्ने उल्लेख गरे ।

यता सरकारले ल्याउन लागेको उक्त विधेयकको विरोधमा डाक्टर केसी जुम्लामा अनशन बसिरहेका छन् । उनको माग सम्बोधनका लागि सरकारको तर्फबाट हालसम्म कुनै पहल नभएको भन्दै चिकित्सक संघले समेत जीवन रक्षाको मागसहित आन्दोलन जारी राखेको छ ।

shares