Breaking News

जेब्रा क्रसिङ वा आकाशे पुलबाट बाटो नकाट्ने यात्रुलार्इ अब २ घण्टे ट्राफिक प्रशिक्षण

काठमाण्डौ, ३१ असार । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानी बसाल्नका लागि प्रशिक्षण अभियान सुरु गर्ने भएको छ ।

उपत्यकाका विभिन्न चोकहरूमा जेब्राक्रस तथा आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रुलाई सडक पेटीमा ल्याएर २ घण्टा प्रशिक्षण दिने निर्णय भएको महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले जानकारी दिए । बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन हुने उनले बताए ।

काठमाडौंको नागस्थान माथिल्लो र तल्लो, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, रणोद्धिप, पुरानो बसपार्क, भद्रकाली, नयाँ बसपार्क लगायतमा आकाशे पुल छन् । उक्त स्थानहरूमा पैदल यात्रीले अाकाशे पुलबाट मात्रै बाटो काट्नु पर्ने हुन्छ भने पुल नभएको स्थानमा जेब्रा क्रसिङबाट मात्र सडक पार गर्नु पर्नेछ ।

ट्राफिकले प्रशिक्षण दिनका लागि १२ जना प्रहरी निरीक्षकको नेतृत्वमा एक/एक जना जुनियर अधिकृतलाई खटाउने निर्णय गरेको छ । जस अनुसार ठिमीमा प्रहरी निरीक्षक जगत नेपाली, कोटेश्वरमा कृष्णराज सापकोटा, थापाथलीमा सरोज प्रजापति, त्रिपुरेश्वरमा इन्द्रजित इटानी, पुरानो बसपार्कमा बाबुकाजी गिरी र केशरमहलमा गोकर्ण नेपालको नेतृत्वमा प्रशिक्षण हुनेछ ।

त्यसैगरी सिंहदरबार क्षेत्रमा बेनप्रसाद श्रेष्ठ, गौशालामा धर्मेन्द्र रावल, महाराजगञ्जमा राजकुमार न्यौपाने, कालिमाटीमा प्रतित सिंह राठौर र जावलाखेलमा सिताराम हाछेथुले गलत तरिकाले बाटो काट्ने पैदल यात्रुहरूलार्इ प्रशिक्षण दिने महाशाखाले जनाएको छ ।

shares