Breaking News

विश्वकप २०१८: इंग्ल्याण्डलाई हराउँदै बेल्जियम तेस्रो

काठमाण्डौ, ३१ असार । जारी विश्वकप फुटबलमा इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । सेन्ट पिटर्सबर्गमा सम्पन्न खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अग्रता लिएको थियो । विश्वकपभरि नै दमदार प्रदर्शन गरेका इडेन हजार्डले खेलको ८२अौं मिनेटमा थप एक गोल गर्दै जित सुनिश्चित गरे ।

गोल्डेन जेनेरेसन मानिएको बेल्जियमको टोलीलार्इ उपाधिको दाबेदारका रूपमा हेरिएको भएपनि तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । सेमिफाइनलमा भएको प्रतिस्पर्धात्मक एवं रोचक खेलमा फ्रान्ससँग १-० ले पराजित हुन पुगेपछि तेस्रो स्थानको लागि उसको भेट क्रोएसियासँग पराजित इंग्ल्याण्डसँग भएको थियो ।

यसअघि समूह चरणमा भएको खेलमा पनि बेल्जियमले नै बाजी मारेको थियो । समूह चरणमा भएको भेटमा बेल्जियमले इंग्ल्याण्डलार्इ १-० ले पाखा लगाएको थियो । समूह विजेताको रूपमा बेल्जियम र उपविजेताको रूपमा इंग्ल्याण्ड नकअाउट चरणमा प्रवेश गरेका थिए ।

विश्वकपको उपाधिका लागि आइतबार राति नेपाली समयानुसार ८:४५ बजे फ्रान्स र क्रोयसिया भिड्दै छन् ।

shares