Breaking News

गंगामायाले तोडिन् अनशन

काठमाण्डौ, २९ असार । छोराको हत्याका दोषीलाई कारबाहीको माग राख्दै संघर्षरत गंगामाया अधिकारीले अनशन तोडेकी छिन् ।

वीर अस्पतालमा आज कानुनमन्त्री शेरबहादुर तामाङ र मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर गंगामायाको अनशन तोडाएका हुन् । हत्याका दोषीलाई कारबाही गर्न उच्चस्तरीय समिति बनाउने, गंगामायाको नाममा एक करोडको अक्षयकोष स्थापना गर्ने र हराइरहेका जेठा छोराको खोजी गर्ने प्रतिबद्धता सरकारले जनाएसँगै गंगामाया अनशन तोड्न सहमत देखिएकी हुन् ।

सरकारले प्रतिबद्धता जनाएअनुरूप १० दिनभित्र काम नभए पुनः अनशन दाहोर्याउने गंगामायाले बताएकी छिन् । अनशन तोडाएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री तामाङले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।

गंगामायाका छोरा कृष्णप्रसादको हत्या तत्कालीन विद्रोही माओवादीले गरेका थिए । हत्याका मुख्य अभियुक्त भनिएका रुद्र आचार्य भने बेलायतमा लुकेर बसेको बताइएको छ । उनलाई प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ ।

गोरखा फुजेलका ७८ वर्षीय छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेसँगै गंगामाया अधिकारीको अनशन तोडाउने प्रयास सुरु भएको थियो । छोराको हत्यारालाई कारबाही गर्न माग राख्दै अनशनमै रहेका बेला २०७२ साल असोजमा गंगामायाका पनि नन्दप्रसाद अधिकारीको निधन भएको थियो तर हालसम्म अन्त्येष्टि हुन सकेको छैन ।

shares