Breaking News

कडाईका साथ सुशासन र तिव्रताका साथ विकासको बाटोमा सरकार: प्रधानमन्त्री

काठमाण्डौ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कडाईका साथ सुशासन र तिव्रताका साथ विकासको बाटोमा सरकार अघि बढ्ने बताएका छन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको तीनदिने हिमवत्खण्ड कला साहित्य सम्मेलनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब सुशासन र विकासको बाटोबाट मुलुकलाई समृद्धितर्फ अघि बढाइने बताए । मुलुकमा सुशासन कायम राख्न सरकार कडा रूपमा प्रस्तुत हुने भन्दै प्रधानमन्त्री ओलीले विकासको कार्यक्रमहरूलाई पनि तिव्रताका साथ अघि बढाइने धारणा राखे ।

प्रधानमन्त्री ओलीले सरकारले अघि सारेको समृद्ध नेपाल र सुशी नेपालको नारालाई पूरा गर्न पुराना कुरामा अल्झिएर बस्न नहुने भन्दै नयाँ नयाँ क्षेत्रमा मुलुकले फड्को मार्ने दाबी गरे । अहिले समृद्धिको मापन जिडिपी र पर क्यापिटा ईन्कमले मात्र नहुने भन्दै उनले निरपेक्ष गरिबी रेखामुनिको अवस्थाले नै मुलुकको समृद्धिको अवस्था निर्धारण गर्ने जिकिर गरे । उनले अहिले पनि जनतामा गरिबी दुःख, बेरोजगार, शिक्षा अवसर बञ्चित लगाएतका समस्या कायमै रहेको भन्दै सरकार नीति योजना अनुसार अघि बढ्ने स्पष्ट पारे ।

उनले नेपालको कला साहित्य भाषा सस्कृति अन्य देश भन्दा पृथक रहेको भन्दै यसको जगेर्ना गर्ने दायित्व सबैको भएको जिकिर गरे । तीन दिने सम्मेलनमा हिमवत्खण्ड क्षेत्रमा पर्ने दर्जनभन्दा बढी मुलुकका साहित्यकारको सहभागिता रहेको छ । सम्मेलनमा २२औँ शताब्दीमा नेपाली भाषाको अवस्था, यसकोे महत्व र आजको साहित्यको स्तर कस्तो हुने भन्नेबारे कार्यपत्रसहित छलफल हुने बताइएको छ ।

shares