Breaking News

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार पत्रकार मल्ललार्इ प्रदान

काठमाण्डौ, २९ असार । यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४ रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललार्इ प्रदान गरिएको छ ।

शिक्षा विभागसंगको सहकार्यमा शुक्रबार काठमााडौंमा महासंघले आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मल्ललाई उक्त पुरस्कार प्रदान गरेका हुन् । उक्त पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।

यसैगरी ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिने रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार विभिन्न प्रदेशका पत्रकारहरूलाई प्रदान गरियो । त्यस्तै ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने रु. १५ हजार राशीको ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ पनि प्रदान गरिएको थियो ।

त्यसैगरि उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रु. २० हजार राशीको पुरस्कार पनि प्रदान गरिएको छ । कार्यक्रममा शिक्षामन्त्री पोखरेलले व्यावसायिक शिक्षा आजको आवश्यकता रहेको भन्दै त्यसमा पत्रकारहरुले उचित भूमिका खेल्नुपर्ने बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारहरूलाई सिंहदरबार लगायतका स्थानमा प्रवेशमा कडाई गर्न सरकार लागेको सुनिएको भन्दै त्यसो नगर्न आग्रह गरे । महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

shares