Breaking News

गंगालाल अस्पतालमा आँखा संकलन एवं परामर्श केन्द्र स्थापना हुने

काठमाण्डौ, २९ असार । काठमाडौंको बासवारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा आँखा संकलन एवं परामर्श केन्द्र स्थापना हुने भएको छ ।

तिलगंगा आँखा अस्पतालको सहकार्यमा गंगालाल अस्पतालमा आँखा संकलन एवं परामर्श केन्द्र स्थापना हुने भएको हो । आँखा संकलन एवं परामर्श केन्द्र स्थापना गर्ने सम्झौतामा शुक्रबार गंगालालका कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्मा र आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर रिता गुरुङले हस्ताक्षर गरे ।

सम्झौता अनुसार आँखा दान गर्न चाहने व्यक्तिका लागि गंगालाल अस्पतालमा पूर्वाधार स्थापना गरिने छ भने आवश्यक परामर्श पनि दिइने जनाइएको छ । आँखा दान केन्द्रका लागि २४ घण्टा आवश्यक जनशक्तिको व्यवस्था गर्ने तिलगंगा अस्पतालले जनाएको छ ।

सम्झौता कार्यक्रममा तिलगंगा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डाक्टर रिता गुरुङले पछिल्लो समय आँखाको नानीको आवश्यकता बढ्दै गएको भन्दै उक्त केन्द्र स्थापनाले उक्त मागलाई केही पूरा गर्न सहयोग मिल्ने बताइन् ।

त्यस्तै गंगालालका कार्यकारी निर्देशक शर्माले सामाजिक कार्यमा निरन्तर अघि बढ्न र आँखा नानीको पहुँचका लागि केन्द्र स्थापना हुनु सकारात्मक रहेको बताए । यसअघि तिलगंगाले आँखाका कृत्रिम लेन्स उत्पादन गरी निर्यायत गर्ने उद्देश्यसहित तिलगंगा आँखा अस्पताललाई उद्योगका रूपमा विकास गर्न उद्योग मन्त्रालयले पहल सुरु गरेको थियो ।

shares