Breaking News

गोविन्द केसीको समर्थनमा विभिन्न अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

काठमाण्डौ, २९ असार । जुम्लामा आमरण अनशन बसिरहेका डाक्टर गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका चिकित्सकहरूले विभिन्न अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।

वीर अस्पताल, धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र टिचिङ अस्पतालका डाक्टरले शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बन्द गरेका हुन् । अस्पतालका आकस्मिकबाहेकका सेवा ठप्प पार्दै चिकित्सकहरूले काठमाडौको माईतिघरमा सांकेतिक विरोध स्वरुप ओपीडी सेवा सञ्चालन गरेका छन् । सो क्रममा उनीहरूले माईतिघर मण्डलामा नै बिरामी जाँच गरेका थिए ।

नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) को आह्वानमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् । अनशनरत डा. केसीका माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागिसमेत संवेदनशील नभएको भन्दै एनआरडीएले सेवा ठप्प पार्ने निर्णय गर्दै माईतिघर मण्डलामा धर्ना समेत दिएका छन् ।

एनआरडीएका अध्यक्ष डाक्टर सुमित पाण्डेले अनसनरत डाक्टर केसीका मागप्रति सरकार संवेदनशील नभएकाले आफूहरू आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रनु परेको र सांकेतिक विरोध स्वरुप ओपीडी सेवा सुरु गरेको बताए । उनले यस आन्दोलनबाट हुने क्षति र असुविधाप्रति एसोसिएसन नभएर सरकार जिम्मेवार हुनुपर्ने तर्क गरे ।

shares