Breaking News

सिन्धुपाल्चोक बोलेरो दुर्घटना: ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

सिन्धुपाल्चोक, २९ असार । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-४ सल्लेडाँडामा बिहीबार राति भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

तिपेनी बजारबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको लु१च ९९९ नंको बोलेरो कच्ची सडकबाट ४०० मिटर तल खस्दा दुर्घटना भएको थियो ।  दुर्घटनामा तीन महिला र दुई पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङका ५६ वर्षीय पदम तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५३ वर्षीया नानी तामाङ, ६५ वर्षीय भीमबहादुर तामाङ र २५ वर्षीया सुनमाया तामाङको मृत्यु भएको हो । बोलेरोमा सवार १३ जनामध्ये चालक रामबहादुर लामासहित ८ जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेहरूमा अश्मी श्रेष्ठ, सुस्मिता वाइबा, जिमी तामाङ, खुशी तामाङ, शिर्षानी वाइवा, मनमाया तामाङ र भिमजुनी तामाङ रहेका छन् । उनीहरूको अहिले काठमाडौँस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

shares