Breaking News

नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी: प्रधानमन्त्री

काठमाण्डौ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

भानु जयन्तीको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले काठमाडौंको प्रज्ञा भवनमा विशेष कार्यक्रमको आयोजना गर्दै आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण समेत गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीलगायतले भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको भन्दै प्रशंसा गरे । प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्व रहेको उल्लेख गरे । त्यस्तै उनले प्रतिष्ठानले कार्यालय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गरिने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले देशभित्र विभिन्न भाषा तथा समुदायबीच रहेका बहुलतालाई सवल बनाउने भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उनले ‘सांस्कृतिक अस्मिताका प्रतीक: तुलसीदास र भानुभक्त’को विमोचन तथा भानु जयन्तीमा उत्कृष्ट प्रतिभालाई पुरस्कृत गरे ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्म भएको थियो । उनले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए ।

भानुभक्तका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ ‘वधूशिक्षा’, ‘रामगीता’१९२५ तथा दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् । आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा चिनाएका थिए ।

shares