Breaking News

भोलिदेखि हुने अस्थायी शिक्षकको आन्तरिक परीक्षा विथोल्ने चेतावनी

काठमाण्डौ, २८ असार । अस्थायी–करार शिक्षक केन्द्रीय संघर्ष समितिले भोलिबाट हुने माध्यमिक, निम्न माध्यमिक तह र प्राथमिक तहको आन्तरिक परीक्षा विथोल्ने निर्णय गरेको छ ।

बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यसमितिले आफूहरूले ८ औं दिनसम्म आमरण अनशन बस्दापनि राज्यले आफूहरूको मागको सुनुवाई नगरेकोले बाध्य भएर भोलिबाट हुने परीक्षा विथोल्ने निर्णय लिएको जनाएको हो ।

कार्यसमितिका महासचिव कुमोद कुमार कर्णले ७५ प्रतिशत आन्तरिकको व्यवस्था हुँदाहुँदै ३० प्रतिशतमा मात्रै सिमित गरेकोले र परीक्षा तयारीको लागि अत्यन्तै छोटो अवधि दिइएकोले तत्काल परीक्षाको मिति सारी यसअघि आफूहरूले अघि सारेका मागहरू समेत सम्बोधन गर्न जोड दिए ।

उनले आफूहरू भोलि हुने परीक्षामा कुनै हालतमा पनि सहभागी नहुने बरु बहिष्कार र विथोल्ने तयारीमा जुटेको चेतावनी दिए । त्यस्तै कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रामअयोध्या महतो, केन्द्रीय सदस्य समिक्षा ढकाल निरौला र केन्द्रीय सदस्य शिवशंकर कुमार झा लगायतले भोलिबाट हुने आन्तरिक परीक्षामा आफूहरूको सहभागिता नहरने जनाएका थिए । संघर्ष समितिले असार २९ र ३० गते गर्न खोजेको परीक्षा स्थगित् गरी विगतमा भएका सम्झौता लागू गर्न समेत माग गरेको छ ।

त्यस्तै, हालसम्म नियुक्त भएका सम्पूर्ण अस्थायी/करार शिक्षकहरूलाई सामान्य प्रक्रियाबाट स्थायी गर्नुपर्ने, अस्थायी/करार शिक्षकहरूको शतप्रतिशत सेवा अवधि गणना गर्नुपर्ने, औषधी उपचारको व्यवस्था गर्नुपर्ने, विस्थापित शिक्षकहरूलाई पुनः स्थापित् गर्नुपर्ने, सर्वोच्च अदालतको आदेश (२०६६) सालको फैसलालाई कार्यान्वयन गर्नुपर्ने र १० महिने तालिम र स्थायी अध्यापन अनुमति पत्र नभएका शिक्षकहरूलाई आन्तरिक परीक्षामा सहभागी गर्नुपर्ने माग अघि सारेको छ ।

shares