Breaking News

सडक जलमग्न भएपछि भक्तपुर र काभ्रेमा यातायात प्रभावित

भक्तपुर, २८ असार । बुधबारदेखि परेको अविरल वर्षाका कारण सडक डुबेपछि भक्तपुर र काभ्रेमा यातायात प्रभावित भएको छ ।

वर्षापछि आएको बाढीले केही कतिपय ठाउँमा सडक जलमग्न भएका छन् भने कतिपय स्थानमा खोलामा आएको बाढीले सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको हो । भक्तपुरको थिमि क्षेत्र डुबानमा परेको छ ।

महानगरीय ट्राफिक प्रहरीको अनुसार सडकमा पानी भरिएकाले साना सवारीका साधन आवतजावतमा समस्या हुनाको साथै ट्राफिक व्यवस्थापनमा पनि समस्या भएको छ । सडक विभागसँग समन्वय गरेर यातायात सहज बनाउने प्रयास भइरहेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

खस्याङ खुसुङ खोलामा आएको बाढीले मध्यपुर थिमिको राधे राधे क्षेत्र डुबानमा पर्दा सयौँ परिवार विस्थापित भएका छन् । यस्तै गोरेखोलामा आएको बाढीले सडकअवरुद्ध भएको छ । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही लगायत स्थानका बस्ती पनि डुबेका छन् ।

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेपछि भुइँतलामा बस्नेको हरिबिजोग भएको छ । यसैगरी काभ्रेको बनेपामा पनि बाढीका कारण यातायात प्रभावित हुँदा यात्रु समस्यामा परेका छन् ।

shares