Breaking News

सरकारले तोकेको न्यूनतम पारिश्रमिकप्रति विभिन्न ट्रेड यूनियन महासंघहरूको आपत्ति

काठमाण्डौ, २७ असार । सरकारले भर्खरै घोषणा गरेकोे न्यूनतम पारिश्रमिकप्रति विभिन्न ट्रेड यूनियन महासंघहरूले घोर आपत्ति जनाएका छन् ।

बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै ट्रेड यूनियन सम्बद्ध विभिन्न महासंघहरूले सरकारको यो निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । नेपालको संविधान अनुसार प्रत्येक नागरिकलाई रोजगारीको हक हुने र श्रमिकलाई उचित पारिश्रमिकमा आधारित सामाजिक सुरक्षाको हक हुने मौलिक हकको व्यवस्था गरेअनुरुप सरकारले भर्खरै श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार चार सय ५० तोकेको छ ।

सरकारको यो निणर्यले स्वदेशमै काम गरिरहेका श्रमिकहरू विदेशिनुपर्ने अवस्था सिर्जना गर्न र जीवन धान्न नसकी गरिरहेको काम पनि छोडी बेरोजगार हुन बाध्य हुने अवस्था आउने ट्रेड यूनियन महासंघहरूले ठहर गरेको छ । ट्रेड यूनियन महासंघ स्वतन्त्र, अध्यक्ष इन्द्रदेव मिश्रले सरकारले तोकेको निर्णय कानूनको मर्म र भावना विपरीत भएको बताए । सरकारले आफ्नो निर्णयलाई सच्चाउन उनले माग गरे ।

सरकारमै रहेको पार्टीको जनवर्गीय संगठन संघीय समाजवादी फोरमसँग आबद्ध समाजवादी लोकतान्त्रिक ट्रेड यूनियन महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन, स्वतन्त्र प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ नेपाल लगायतले सरकारको निर्णयको विरोध गरेका हुन् ।

shares