Breaking News

मन्त्रालयगत कार्ययोजनाबारे प्रधानमन्त्रीले गरे छलफल

काठमाण्डौ, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयका एक वर्षे तथा पञ्चवर्षे मन्त्रालयगत कार्ययोजना र विकास निर्माणसम्बन्धी कार्यक्रमका विषयमा छलफल गरेका छन‍् ।

बुधबार सिंहदरबारमा समृद्धि र विकासको आधार सिर्जना गर्ने गरी प्रभावकारी सेवा दिन ठोस कार्ययोजनाका विषयमा प्रधानमन्त्री ओलीले मन्त्री र सचिवसँग छलफल गरेका हुन् । गत असार २५ गते भएको छलफल प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै बजेट पूर्ण रूपले कार्यन्वयनमा जाने गरी लिखित कार्ययोजना ल्याई प्रस्तुत गर्न निर्देशन दिएका थिए ।

सोहि निर्देशन अनुसार मन्त्री र सचिवहरूले एक वर्षे तथा पञ्चवर्षे मन्त्रालयगत कार्ययोजना र विकास निर्माणसम्बन्धी कार्यक्रम पेश गरेको सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । त्यस्तै राष्ट्रिय गौरवका आयोजनामा गरिरहेको काम कारबाहीको प्रगतिबारे पनि सम्बन्धित मन्त्रालयले जानकारी गराएको मन्त्री बास्कोटाले जानकारी दिए ।

छलफल अझै निरन्तर चल्ने र सबै मन्त्रालयबाट स्पष्ट योजनाका बारेमा जानकारी आएपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने मन्त्री बास्कोटाले बताए । सरकारी काम कारबाहीको आलोचना बढ्दै गएको समयमा प्रधानमन्त्री ओलीले छलफल बोलाएका हुन् ।

shares