Breaking News

स्रष्टालार्इ संगीत रोयल्टी दिने सहमति

काठमाण्डौ, २७ असार । एफएम रेडियोहरूले रचनाकार, संगीतकार, गायक र लेखकका सिर्जना प्रयोग गरेबापत संगीत रोयल्टी दिने सहमति भएको छ ।

सिंहदरबारस्थीत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार संगीत समाज नेपाल, प्रस्तोता समाज नेपाल, संगीत उत्पादक समाज नेपाल, सामुदायिक रेडियो प्रसारक संघ तथा ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्रष्टालाई रोयल्टी दिने अभियान रेडियोबाट सुरु गरिने तथा टेलिभिजन, सार्वजनिक यातायातलगायत सबै सार्वजनिक स्थलमा लागू गर्दै जानेमा जोड दिए ।

सिर्जनाले मनोरञ्जन लिने दिने तर स्रष्टा भोकै बस्ने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ छ । उनले रोयल्टी दिने प्रक्रियालाई वैज्ञानिक, व्यवस्थित र पारदर्शी बनाइने, रोयल्टीको पनि कर लाग्ने गरी गीत तथा संगीत क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्ने धारणा पनि राखे ।

सहमतिमा रोयल्टीको दर एक सय वाटसम्मका रेडियोले वार्षिक रु दुई हजार ५ सय , १ सय १ वाटदेखि ५ सय वाटसम्मका रेडियोले वार्षिक रु चार पाँच सय, ५०१ वाटदेखि एक हजार वाटसम्मका रेडियोले वार्षिक रु आठ हजार र एक हजार एक वाटभन्दा माथिका रेडियोले वार्षिक रु १२ हजार तोकिएको छ ।

रेडियो प्रसारक सम्बन्धी दुबै छाता संस्थाले आर्थिक वर्ष २०७४/७५ को गीत तथा संगीतको रोयल्टी आउँदो पुस मसान्तभित्र बुझाउनुपर्ने सहमति भएको छ ।

shares