Breaking News

वैदेशिक रोजगारमा देखिएका समस्यालाई सुधार गर्न सरकार प्रतिबद्ध

काठमाण्डौ, २७ असार । श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा देखिएका समस्यालाई सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको ‘वैदेशिक रोजगारबाट फर्किएका युवाको राष्ट्रिय भेला’को उद्घाटन गर्दै उनले अब केही वर्षभित्रै सीप सिकेका युवालाई मात्र वैदेशिक रोजगारमा पठाइने बताए । मन्त्री विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको क्षमता उपयोग गर्नका लागि पूँजीदेखि स्रोतसाधन परिचालन गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

आफूले सिकेका सीप र ज्ञानलाई स्वदेशमै उपयोग गर्नका लागि सम्बन्धित पक्षलाई आग्रह गर्दै उनले नेपालको विकास यहीका युवाबाट मात्र सम्भव भएकाले विदेशमा रहेका युवालाई पनि स्वदेशमा फर्कने वातावरण बनाउने दृढता व्यक्त गरे । मन्त्री विष्टले सरकारले सुरु गरेको समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानलाई सफल बनाउनका लागि वैदेशिक रोजगारमा रहेका युवालाईसमेत आबद्ध गरिने जिकिर गरे ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई पूरा गर्ने अभिभारा युवाको काँधमा रहेको बताए । त्यस्तै युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले युवालाई स्वरोजगार बनाउनका लागि न्यूनतम ब्याजमा ऋण प्रवाह गरिएको जानकारी दिए ।

shares