Breaking News

नेविसंघका असन्तुष्ट पक्षद्वारा १२औं महाधिवेशनको मिति घोषणा

काठमाण्डौ, २७ असार । नेपाल विद्यार्थी संघका असन्तुष्ट पक्षले १२औं महाधिवेशनको मिति घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघका असन्तुष्ट पक्षले बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरूको बैठक बसी १२ औं महाधिवेशनको मिति तय गरेको जनाएको हो । बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपुरमा महाधिवेशन गर्ने निर्णय गरेको नेविसंघ उपाध्यक्ष नविन राईले जानकारी दिए ।

बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा १ हजार १ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । समितिलाई नियमावली तयार पार्न पाँच दिनको समय दिइएको जनाइएको छ ।

यस्तै, अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीको संयोजकत्वमा महाधिवेशनबाट पारित गर्ने नीति तथा कार्यक्रम समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । बैठकले अध्यक्ष नैनसिंह महरले विधि, विधानविपरीत गरेका मनोनयन खारेज गरेको उपाध्यक्ष राईले जानकारी दिए ।

विधानबमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको मनोनयन केन्द्रीय समितिको बहुमतबाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको केन्द्रीय महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए ।

shares