Breaking News

गोविन्द केसीका मागहरू पूरा गर्न गर्न सरकार तयार

काठमाण्डौ, २७ असार । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरू पूरा गर्न र समस्या समाधान गर्न सरकार तयार रहेको बताएकी छिन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले डा.गोविन्द केसीले अनशन सूरु गरेदेखि नै सरकारले वार्तामा आउन आग्रह गर्दै आएको भन्दै समस्या समाधान गर्न सरकार तयार रहेको बताएकी हुन् ।

मन्त्री अर्यालले डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको बताउँदै उपचारको लागि कुनै कसर बाँकी नराख्ने जनाइन् । उनले आन्दोलनरत चिकित्सकहरूलाई आन्दोलन स्थगन गर्दै बिरामीको सेवामा जुट्न आग्रह गरिन् ।

कांग्रेसका नेता सुरेन्द्र पाण्डेले गोविन्द केसीले उठाएका माग कुनै राजनीतिक दल वा समुहका पक्षमा नभई नेपाली जनताको पक्षमा रहेकाले सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । माथेमा प्रतिवेदनले दिएका सुझावका आधारमा ल्याइएको अध्यादेशको साटो प्रतिवेदनको भावनाविपरीत सरकारले प्रतिस्थापन विधेयक ल्याएकाले अहिलेको समस्या निम्तिएको पाण्डेले बताए ।

नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डाक्टर ढुण्डीराज पौडेलले गोविन्द केसीसँग वार्ता गर्नका लागि सरकारले पर्याप्त पहल नगरेको आरोप लगाए । चिकित्सा शिक्षालाई सरकारले निजीकरण गर्न खोजेका कारण गोविन्द केसी अनशन बस्न बाध्य भएको पौडेलको आरोप थियो ।

shares