Breaking News

डा. केसीसँग खुला मञ्चमा बसेर प्रत्यक्ष प्रशारण गर्दै वार्ता गर्न तयार छौं: योगेश भट्टराई

काठमाण्डौ, २७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले अनशनरत डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै काठमाण्डौ आएर उपचार गरिसकेपछि वार्तामा बस्न आग्रह गरे । उनले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पारे ।

जनताको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता अधिकार दिनका लागि सरकार तयार रहेको जिकिर गर्दै भट्टराईले गोविन्द केसी कहिले काठमाण्डौ र कहिले जुम्ला पुगेर अनशन बसिरहन नपर्ने बताए । डा. केसीसँग बन्द कोठाभित्र नभर्इ खुला मञ्चमा बसेर वार्ता गर्न तयार रहेको भन्दै उनले सबै टेलिभिजन बोलाएर प्रत्यक्ष प्रशारण गर्दै वार्ता गर्न सरकार तयार रहेको बताए ।

भट्टराईले जायज मागलाई सकारात्मक रूपमा लिन सकिने भएपनि केसीले नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले लगानी गरेको कलेजलाई सम्बन्धन नदिने खेल खेलेको आरोप लगाए । अहिलेसम्म खुलिसकेका मेडिकल कलेजको पनि छानबिन गर्नुपर्ने तर्क गर्दै संसदीय छानबिन समिति बनाएर सबै मेडिकल कलेजलाई छानबिनको दायरामा ल्याइने उनले बताए ।

माथेमा प्रतिवेदन सुझाबमात्रै भएकाले हुबहु त्यसैका आधारमा नियम बनाउनुपर्छ भन्ने कुरा जायज नभएको उनको भनाइ छ । नेपाल चिकित्सक संघले केसीको मागप्रति समर्थन जनाउँदै आन्दोलन गरेकामा भट्टराइले आपत्ति जनाएका छन् । उनले भने, “गोविन्द केसीलाई लडाएर अनशन बस्न लगाउने अनि आफू आन्दोलन गर्ने ? अरुको जीवनमाथि किन खेलवाड ? सक्नुहुन्छ भने तपाईँहरू आफैं अनशन बस्नुस् ।”

shares