Breaking News

आलोचना, सुझाव र टिप्पणीको स्वागत गर्छु: प्रधानमन्त्री

काठमाण्डौ, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि आलोचना सुझाव र टिप्पणीको आफूले स्वागत गर्ने बताएका छन् ।

पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गाली गलौज र अश्लिलतातर्फ कुनै दम नहुने भन्दै आलोचना सुझाव र टिप्पणीको भने आफूले स्वागत गर्ने बताए । उनले अहिले व्यक्तिको योग्यताको प्रश्न उठ्ने गरेको भन्दै गाली गलौज र अश्लिलता व्यक्तिको योग्यतामा भर पर्ने टिप्पणी गरे ।

लोकतन्त्र समाजवाद उन्मुख वर्तमान सरकार रहेको भन्दै उनले केही लोकतन्त्रका ठेकेदार भन्नेले लोकतन्त्रमाथि हमलाको आरोप लगाएको जिकिर गरे । प्रधानमन्त्री ओलीले सामाजिक न्याय समानता सामेल गरे लोकतन्त्र हुने भन्दै सामन्ति पृष्ठभूमिबाट आएको समाजको रुपान्तरण जरुरी रहेको जिकिर गरे ।

अहिले मुलुक निर्माण गर्ने अनुकूल समय रहेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिमा बिलम्व गर्न नहुने धारणा राखे । उनले छिमेकी मुलुकसंगको सम्बन्ध सुमधुर बनेको भन्दै नेपाल भारतबिचको वरावरीको हैसियत रहेको र नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न नसक्ने स्पष्ट पारे ।

कार्यक्रममा राष्ट्रिय प्रतिभा पुरस्कार २०७४ ललितकला विधातर्फ ठाकुरप्रसाद मैनाली, भाषा तथा साहित्य विधातर्फ प्राध्यापक डाक्टर केशवप्रसाद उपाध्याय र संगीत तथा नाटक विधातर्फ प्रचण्ड मल्ललाई प्रदान गरिएको थियो । त्यस्तै भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७४ दलित मुक्ति आन्दोलनका नेता पदमलाल विश्वकर्मालाई प्रदान गरिएको छ । महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७४ आख्यान विधामा अभि सुवेदीलाई प्रदान गरिएको छ भने प्रादेशिक प्रतिभा पुरस्कार २०७४ संगीत तथा नाट्य विधातर्फ गायिका सुनिता दुलाललाई प्रदान गरिएको छ ।

shares