Breaking News

प्रधानमन्त्री ओली स्वदेश फर्किए

काठमाण्डौ, १० असार । चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्किएका छन् ।

गत असार ५ गते चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायतले स्वागत गरेका थिए ।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति शी चिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायतसँग भेटवार्ता गरेका थिए । स्वदेश फर्केलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री शर्मा ओलीले आफ्नो चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको बताए ।

चीन जानुभन्दा अघि आफूले गरेको प्रतिबद्धताभन्दा बढी उपलब्धि भएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपालसम्म रेल पुर्‍याउन चीन तयार रहेको बताउँदै विस्तृत अध्ययनपछि लगानीको विषय टुङ्गो लाग्ने बताए । तयारी नपुगेका कारण पारवहन सम्झौतामा हस्ताक्षर हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले जुलाईभित्र द्विपक्षीय छलफलबाट पारवहन सम्झौताको प्रोटोकल टुङ्गो लाग्ने जानकारी दिए ।

त्यस्तै भ्रमणका बेला भएका गतिविधिका बारेमा जानकारी दिंदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रमणका दौरान विभिन्न विषयमा नेपाल र चीनबीच १० वटा सम्झौता र ४ वटा समझदारी भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीको टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगायत सहभागी भएका थिए ।

shares