Breaking News

बासकाे पुल बगेपछि यो बर्ष निर्माणाधिन पुलबाटै काम चलाइने

पकंज शर्मा , झापा ९ असार । झापाको भद्रपुरस्थित मेचीनदीमा मनसुन सुरु भएसँगै पानीको सतह बढ्दा बाँसको अस्थायी पुल बगेपछि उद्घाटन गर्न बाँकी रहेको पुलबाटै आवतजावत गर्न थालेका छन्।

नेपाल भारतको सीमावर्ती क्षेत्रलाई जोड्न निर्माण भएको पुल उद्घाटन हुनु अगावै दुबै देशका नागरिकले प्रयोग थालेका छन । मेची नदीमा पुल निर्माण भए पनि सडकबाट पुलसम्म पुग्ने सडक निर्माण नभएकाले पुलको उद्घाटन हुन बाँकी रहेको छ ।

अहिले पुलसम्म पुग्नका लागि पुलको दुवैतर्फ अस्थायी ग्राभेल सडक बनाइएको छ। त्यो सडकको गिट्टी र बालुवा पनि पानीले बगाउन थालिसकेको छ। उक्त अस्थायी सडक भत्किए पुलबाट आवतजावत गर्न नै ठप्प हुने स्थानीयहरु बताउँछन्।

पुलको दुवै तर्फको ग्राभेल सडक अहिले ठाउँठाँउमा खाल्डो परिसकेको छ । नेपालतर्फ बनाइएको तटबन्धन समेत धस्सिएको छ। सडकको यस्तो अवस्था भएपछि पुलमाथिबाट आवतजावत गर्ने समय धेरै नरहेको स्थानीयको भनाइ छ।

नेपाली भूभागका स्थानीयहरू मेची पुलबाट भारततर्फ जाने गरेका छन्। तर, एसएसबीले सीमामै बंगालको बाटो प्रयोगमा रोक लगाएकाले मोटरसाइकल तथा साइकलमा आवतजावत गर्ने नेपाली नागरिक खेत वा नदी तरेर गलगलिया चेकपोष्टतर्फ जान बाध्य भएका छन्।

मेची पुलको निर्माण कार्य फागुनमै पूरा भएको हो। पुल निर्माण भए पनि पुलसम्म जोड्ने नेपाल र भारत दुवैतर्फको सडक निर्माण कार्य अलपत्र बनेको छ। पुलको पूर्वतर्फ भारतीय भूमि १०३ नम्बर सीमास्तम्भसँग जोड्ने सय मिटर सडकलाई निर्माणका लागि बिहार राज्यसँग पहल भए पनि कहिलेसम्म निर्माण हुने भन्ने समयावधि तोकिएको छैन।

पुलको पश्चिमतिर नेपाली भूभागको भद्रपुरमा १८० मिटर लम्बाई र ३० मिटर चौडाई भएको सडकको निर्माण कार्य पुल निर्माणको जिम्मा लिएको कम्पनीले अधुरो छाडेको छ। अहिले पुल निर्माण स्थलमा कम्पनीका कर्मचारी छैन। हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका प्रमुख विजयकुमार महतोले सडक निर्माण कार्य केही समयभित्रै सुरु हुने जानकारी दिए्। ‘स्थानीयले मुआब्जा पाउन साथ जमिन खाली गराई सडक विस्तारले तीव्रता पाउँछ’, उनले भने, ‘भारततर्फ सडक जोड्न केही समस्या छ, त्यसका लागि पनि माथिल्लो निकायमा कुराकानी भइहेको छ।

भद्रपुरतर्फको सडकको जमिन खाली गराउन तीन सरकारी कार्यालयसहित २२ घरपरिवारलाई मुआब्जा वितरणका लागि अर्थ मन्त्रलायमार्फत बजेट आइसकेकाले केही दिनभित्र रकम वितरण हुने भएको छ ।

shares