Breaking News

राजमार्गको जग्गा बिक्रीमा संलग्न नापीका सर्वेक्षक ठाकुर पक्राउ

यमन दनुवार/गाईघाट, ६ असार । सडकले ओगटेको जग्गा बिक्री प्रकरणमा मंगलबार जिल्ला नापी कार्यालय उदयपुरका सर्वेक्षक शिवचन्द्र ठाकुर पक्राउ परेका छन् ।

सगरमाथा राजमार्ग अन्तर्गतको कदमाहा गाईघाट खण्डमा परेको ८ कठ्ठा जग्गा बिक्री प्रकरणमा ठाकुरलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको हो । त्रियुगा नगरपालिका वडा नं. ३ मोतिगडास्थित सडक खण्डको कालोपत्रे भएको सडक बिक्री गरेको अभियोगमा प्रहरीले स्थानीय शिवप्रसाद दाहाल र छोरा बुद्धिप्रसाद दाहाल र जग्गा खरिद गर्ने ललितपुरको नेपाल डंगोल प्रहरी हिरासतमा रहेका छन् ।

१ करोड २७ लाख २० हजार रुपैयाँमा किनबेच भएको दाहाल द्वयको नाममा रहेको उक्त जग्गा सडकमा परेपछि धनीपूर्जा मालपोत र नापी कार्यालयबाट लगत कट्टा भएको थिएन । दाहाल द्वयले लगत कट्टा नगरेको फाइदा उठाउँदै डंगोललाई जेष्ठ १६ गते मालपोत कार्यालयमा रजिष्ट्रेशन गरिदिएका थिए ।

साबिकको गाईघाट १ (ख) कित्ता नं. ७०१ को ७ कठ्ठा १९ धुर मध्ये राजमार्गले ७ कठ्ठा १८ धुर अधिकरण गरेको थियो । बाँकी १ धुर जग्गा मात्र दाहालको नाममा रहेको छ । १ धुर जग्गाको मूल्य आकाश छुने रहेको छ ।

shares