Breaking News

प्रधानमन्त्री ६ दिने अौपचारिक भ्रमणका लागि चीन प्रस्थान

काठमाण्डौ, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली चीनका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार बिहान ११९ सदस्यको जम्बो टोलीसहित चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको टोली बिहान ९ बजे हिमालय एयरलाइन्सको विमानबाट चीनको राजधानी बेइजिङ उडेका हुन्।

प्रधानमन्त्री ओलीलाई बिदाइ गर्नका लागि विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू, तथा नेकपाका नेताहरू माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम लगायत पुगेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुका साथै नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति सी जिनपिङले अघि सार्नुभएको ‘एक क्षेत्र एक मार्ग अन्तर्गत पूर्वाधार निर्माण, लगानी, ऊर्जा, पर्यटनलगायत विषयमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुनेछ ।

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नेछन् ।

प्रधानमन्त्री ओलीको टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगाएत सहभागी छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते स्वदेश फर्कने कार्यक्रम छ ।

सम्बन्धित समाचार-

प्रम अोली जम्बो टोली लिएर भोलि चीन प्रस्थान गर्ने, को-को छन् टोलीमा? (नामावलीसहित)

shares