Breaking News

प्रधानमन्त्री अोलीद्वारा चीनको औपचारिक भ्रमणबारे राष्ट्रिय सभालार्इ जानकारी

काठमाण्डौ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा अघि बढेर समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा आफ्नो चीनको औपचारिक भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले सरकारले निर्धारण गरेको प्रतिबद्धतामा केन्द्रित भएर अघि जानुपर्ने भन्दै वादविवादमा अल्झेर समय नष्ट गर्न नसक्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले मुलुकले आत्मसात् गरेको नयाँ अभ्यासलाई सुदृढीकरण गर्ने, त्यसलाई व्यावहारिक रूपमा खँदिलो बनाउँदै लैजाने अठोट व्यक्त गरे । नेपालमा गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्नेमा केद्रित भइरहेको अवस्थामा सम्पूर्ण साधन र स्रोतलाई विकासतर्फ परिचालन गर्ने हिसावले अन्तराष्ट्रिय सहयोग र समर्थन जुटाइने उनले बताए ।

काठमाडौं– वीरगञ्ज रेल सर्भे टोली काठमाडौँ आइसकेको भन्दै नेपाल र भारतबीचको सम्बन्ध सुदृढ तुल्याउने ढंगले भएका सहमतिका आधारमा काम फटाफट भइरहेको पनि जानकारी दिए ।

प्रधानमन्त्री ओलीले मुलुकको राष्ट्रिय हित र सरोकारलाई अझ व्यापक सृदृढ बनाउने उद्देश्यका साथ आफू चीन भ्रमणमा जान लागेको जानकारी दिए । उनले भ्रमणका क्रममा रेलसेवा, ऊर्जा विकास, पुनः निर्माण लगायतका विषयमा दुई पक्षबीच सहमतिपत्रमा हस्ताक्षर हुने बताए ।

shares