Breaking News

विपद् जोखिम न्यूनिकरणका लागि रणनीतिक योजना तयार

काठमाण्डौ, ४ असार । गृहमन्त्री रामबहादुर थापाले विपद् जोखिम न्यूनिकरणका लागि रणनीतिक योजना तयार पारिएको बताएका छन् ।

भूकम्प अध्ययन सामुदायिक केन्द्रको आयोजनामा सोमबारबाट काठमाडौंमा सुरु विपद् जोखिम व्यवस्थापन सम्बन्धी अन्तराष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले विपद् व्यवस्थापन समितिले जोखिम न्यूनिकरणका लागि रणनीतिक योजना तयार गरी पारित गरेको जानकारी दिए ।

गृहमन्त्री थापाले सरकारले विपद जोखिम न्यूनिकरणका लागि स्थानीय तहसम्मै संरचना खडा गरेर अघि बढने योजना पनि अघि सारे । गृहमन्त्री थापाले विपद् जोखिम न्यूनिकरणका लागि ऐन, कानूनमा सुधार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले विपद न्यूनिकरण रोकथाम र व्यवस्थाका लागि सरकार तयारी अवस्थामा रहेको जिकिर गरे । उनले मानव निर्मित संरचनाका कारण प्राकृतिक विपतमा मानिहरूको मृत्यु हुने गरेको भन्दै अब भौतिक संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए ।

नेपालमा हरेक वर्ष औसतमा ९ सय जना मानिसको ज्यान बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिका कारण हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ ।

shares