Breaking News

राष्ट्रिय सभा सदस्यहरूको कार्यकालको टुँगो गोला प्रथाबाट निर्धारण

काठमाण्डौ, ४ असार । राष्ट्रिय सभा सदस्यहरूको कार्यकालको टुँगो गोला प्रथाबाट निर्धारण गरिएको छ ।

संघीय संसद् सचिवालयले सोमबार बानेश्वरमा नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरूको कार्यकालको टुँगो गोला प्रथाद्वारा लगाएको हो । राष्ट्रियसभाका १९ सदस्यको पदावधि २ वर्ष कायम भएको छ । अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट कार्यकाल कायम भएको छ ।

प्रत्येक प्रदेशका ३ महिला सांसदमध्ये एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र १ जनाको ६ वर्ष पदावधि टुंगो लगाइएको छ ।

गोला प्रथाबाट ६ वर्षको कार्यकाल प्राप्त गर्नेमा रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी हुनुहुन्छ । त्यस्तै बिना पोखरेल, प्रमिलाकुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई, इन्दु कडरिया, नरपति लोहार, सिंहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेलको पनि पदावधि ६ वर्ष कायम भएको छ ।

त्यस्तै चार वर्षे कार्यकालका लागि परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, चन्द्रबहादुर खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, रामनारायण बिँडारी, नैनकला ओझा, शशिकला दाहाल चयन हुनुभएको छ भने उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली, कविता बोगटी, तारादेवी भट्ट, खिमकुमार विक, चक्र स्नेही, रामलखन चमार, जीवन बुढा र अगम वान्तवा राईको पनि पदावधि चार वर्ष कायम भएको छ ।

त्यस्तै हरिचरण सिवाकोटी, रमेशप्रसाद यादव, बलरामप्रसाद बाँस्कोटा, सुरेन्द्रराज पाण्डे, दुर्गाप्रसाद उपाध्याय, कालीबहादुर मल्ल, बद्रीप्रसाद पाण्डे, डा. युवराज खतिवडा, सरिता प्रसाइको कार्यकाल दुई वर्ष कायम भएको छ भने मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, खेमराज नेपाली, रामप्रित पासवान, राजकुमार कुँवर र वृशेषचन्द्र लालको गोलाप्रथा छनोट प्रणालीबाट दुई वर्ष पदाधिकारी कायम भएको छ । संघीय संसद्को माथिल्लो सदनका रूपमा रहेको राष्ट्रियसभा ५९ सदस्यीय रहेको छ ।

shares