प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण विकास निर्माण र समृद्धिमा केन्द्रित हुन्छ: दिनानाथ शर्मा

काठमाण्डौ, ३१ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण विकास निर्माण र समृद्धिमा केन्द्रित हुने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्रीको चीन भ्रमण विकास निर्माण र समृद्धिमा बढी केन्द्रित हुनुपर्ने भन्दै भ्रमणले दुई देशबीचको सद्भाव बढाउने बताए । नेपालको समृद्धिको लागि चीन र भारतबाट सहयोग लिन सक्नुपर्ने भन्दै उनले चीन भ्रमण राजनीतिकभन्दा पनि सद्भावपूर्ण भ्रमण हुने जिकिर गरे ।

नेता शर्माले संविधानको परिधिभित्रै रहेर फरक–फरक दलबाट सभामुख र उपसभामुख निर्वाचित भएकोले अहिले ती दुई पार्टीबीच एकता भैसकेको दाबी गरे । त्यस्तै उनले सरकारको प्रस्तुतिबाट अहिले नै निराश हुनुपर्ने अवस्था नरहेको भन्दै परिणामको लागि केही समय धैर्य गर्नपर्ने धारणा राखे ।

साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने बताए । अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा अनुदानमा चिनीयाँ रेल नेपाल ल्याउन पहल गर्नुपर्ने उनको भनाइ छ ।

नेता भण्डारीले नेपालका नेताहरू विदेशीको गुलामी नै गर्नुपर्छ भन्ने संस्कारबाट ग्रसित रहेको समेत आरोप लगाए । उनले नेपालको विकास र समृद्धिको मोडल नै गलत रहेको भन्दै त्यसैका कारण भू–बनोट सुहाउँदो विकास गर्न नसकेको बताए ।