विश्वकप फुटबल खेलाडी चर्चा: को हुन् क्रिस्टियानो रोनाल्डो?

काठमाण्डौ, ३० जेष्ठ । क्रिस्टियानो रोनाल्डो डस सान्तोस (जन्मस् ५ फेब्रुअरी १९८५, चर्चित नाम क्रिस्टियानो रोनाल्डो) पोर्चुगलको राष्ट्रिय फुटबल टिम तथा रियल म्याड्रिडका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन् । उनी पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान पनि हुन् ।

उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी’ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भए । उनले चार पटक बेलन डि’ओर जितिसकेका छन् । उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्वाधिक गोलकर्ता हुन् भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्वाधिक गोल गरेको किर्तिमान पनि उनकै नाममा छ । उनी चारपटक युरोपियन गोल्डेन शू जित्ने पहिलो खेलाडी हुन् । सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ६०० भन्दा धेरै गोल गरिसकेका छन् ।

उनलाई विश्व फुटबलका सबैभन्दा महान् खेलाडीहरू मध्येका एक मानिन्छ । उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल संघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो । रोनाल्डोले पोर्चुगल राष्ट्रिय फुटबल टोलीबाट सात प्रमुख प्रतियोगिताहरू खेल्दै देशलाई पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधीको रूपमा युइएफए युरो २०१६ जिताए । उनी पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन । उनलाई सन २०१६ र २०१७ मा इएसपिएन र फोर्ब्सले क्रमशः सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए ।

स्पोर्टिङ सिपिबाट क्लब खेल जीवन आरम्भ गरेका रोनाल्डोले आफ्नो उत्पादनशील समय म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा दिएर लिग, च्याम्पियन्स लिग लगायत विभिन्न पुरस्कारहरू जितेका छन् भने धेरै किर्तिमानहरू पनि बनाएका छन् । त्यस्तै पोर्चुगलको राष्ट्रिय टोलीबाट युरोकप जितेका रोनाल्डोको नाममा पोर्चुगल, युरोप, र विश्व फुटबलमा विभिन्न किर्तिमानहरू छन्।